प्रिय मौनता !

Sagar Chand


माफ गर्नुहोला पाठक  लेख्दै गरेको कथाको पात्र भर्खरै मेरो मस्तिष्कबाट गायब भएको छ ।  यो कथा अधुरो रहन सक्छ । मस्तिष्कको कडा सुरक्षा घेरालाई चक्मा दिदै कथाको पात्र बाहिरीएको छ । उसलाई मैले मेरो मस्तिष्कमा कैद गरेकोमा उसको असन्तुष्टि रहेको थियो । जे होस उ स्वतन्त्र भएको छ, मेरो लेखकीय निरंकुशताबाट । उसको स्वतन्त्रता स्वरुप एक टुक्रा कविता ।

“उच्चाट लाग्दा यी दिनहरुमा
उत्साहको खोजिमा, हृदय
तिमीले त्यागेका गल्लीहरुमा भौतारीरहन्छ ।
नैतिकताले बाधिँएको जीवनमा
मस्तिष्क चेतनाको दलदलमा फसेको छ ।
चिहानको खोजिमा तिमि दौडिदा
सपनाको कुलतमा फसेको मेरा नयनहरु
जीवनका जिप्सी टुक्राहरुमा किन पो अल्झिदा हुन् ?”

एउटा लेखकको नाताले आफ्नो पात्र हराएको मैले घोर दुःख मनाउ गर्नु पर्छ । कथालाई पूर्णता दिन उसलाई खोज्नु पर्ने  उत्तरदायित्त्व  मेरो हुन जान्छ, तर पाठकका नाताले तपाईले पनि मलाई सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिनु पर्छ । कल्पनामा सिर्जना गरेका पात्रहरु एका एक गाएब हुदा लेखकले के गनु पर्छ ? म जान्दीन ? लेखकहरुको खुफीया दिमागमा आफ्ना पात्रहरु प्रति कस्तो धारणा पैदा हुदो हो ?

पाठकहरु लेखकको मृत्युमा उसले हस्ताक्षर गरेका पुस्तकहरु ओल्टाई पल्टाई नियाल्दा हुन् । उसले लेखेका अक्षरहरुमा उसको मृत आत्मा खोज्ने कुचेष्टा गर्दा हुन कि नाई ? यस्ता बिचारहरु अहिले मेरो मस्तिष्कमा देखा पर्न थालेका छन् ।


# शहरमा अप्रीलको मध्यान्ह चलिरहेको भएपनि बादल क्रन्दन सहित रोइरहेको छ । सडक किनारामा उभिएका शिरिषका बृक्षबाट खसेको फूलहरु सडकमा अलपत्र परेका छन् । सुन्दर युवतीको कपालमा सजीनु पर्ने ति फुलहरु किन झरेर गए । सुहागरातको बिछौनामा सजिनु पर्ने ति फूलहरु त्यसै मक्कीएर गएकोमा मैले दुःख मनाउने निधो गरेको छु ।

पारिजात तिमी कता छौ हे र त तिम्रा शिरिषका फुलहरुमा कुल्चिदै मान्छेहरु सभ्यताको दौडमा लागेका छन् । शंकर लामिछानेले लेखेको त्यो भुमीकामा किन सुयोगविरको जीवन समाहित हुन सकेन ?

प्रिय पारिजात यि तमाम भुतकालीन प्रश्नको जवाफ तिमी संग छ ? यि सबै भन्दा महत्वको घटाना अचेल पात्रहरुले लेखको विश्वास गर्न छाडेका छन् । उनिहरु चाहान्छन्, लेखकीय निरंकुशताबाट मुत्ती ।

देशले राणा, रजौटा, राजा, रानी, राजकुमार, आदि तमाम कुराबाट स्वतन्त्रता पाइसकेको पछि पनी पात्रहरुले लेखकको संकुचित मस्तिष्कबाट किन स्वतन्त्रता नपाउने ? सकमबरी किन तिम्रो पौरुषिय मानसिकताको शिकार भई ? अथवा किन पो सुयोगविरलाई तिमीले आफ्नो प्रेमी ठान्यौ ?

यी सबै तिम्रा जिवनप्रतिका संकुचित अवधाराणामा पिल्सयका पात्रहरु हुन । संकुचनको अवधारणाबाट मुक्त हुने अधिकार स्वरुप आफ्ना समग्र पात्रहरुलाई मेरो मष्तिस्कको च्याम्बरबाट स—सम्मान बाहिरीन निर्देशन दिएको छु ।

पात्रहरुकोे उराठ कथा लेखेर म किन निराश, उदाश हुने ? किन तिनिहरुका विचाहरुको वेवास्ता गरेर आत्मियताको खोक्रो सम्मानमा आफुलाई विवश तुल्याउने ?

जे होस् पात्रहरु स्वतन्त्र छन । लेखकहरु पात्रमाथि आफ्नो सर्जकीय अधिकार जमाउन किन खोज्छन् ? अस्तिवको यो विशाल महासागरमा पात्रहरु किन आफुलाई निष्कृय बनाउन उद्रित्त छन् ।

प्रियतमा जिवनका यि तमाम अनावश्यक प्लस अनुक्तरीत प्रश्नको जवाफ म आज भेटाउन सकिरहेको छैन्, म जान्दीन कुुनै दिन म यी प्रश्नको जवाफ भेटाउने छु या छैन्, थाहा छैन मलाई, जिवनका लागि यी प्रश्नहरु कति आवश्यक छन्, सान्र्दभिक छन् । बताइदेउन ए प्रिय, तिम्रो मौनताको अर्थ के हो ?

संभवत यो लेखीइरहेका शब्दले कुनै कथा व्यक्त गर्नु पर्ने थियो, तर तिम्रो मौनताले के पो भन्छ ? मैले के पो बुझ्ने ? तिमी कसरी बिर्सीन सक्छौ म शाब्दिक मानव हु भनेर ? कसरी भुल्न सक्छौ म शब्दहरुद्धार घेरीएको छु, ? कसरी भुलीगयौ ए प्रियतमा म शब्दहरुको कैदमा परेको मनुवा हु भनेर ? केही त बोल ! बोल न ए बोल ! हिर्काउ मलाइ तिम्रा शब्दहरुले, प्रहार गर शब्दहरुले म माथि ।

तर, केही त बोल । तिम्रो मौनताले यो युगको आत्मरतीमा खल्बली मच्चाएको छ । जब देखी तिमीले शब्दको साहार लिन छाड्यौ शब्दहरु अलपत्र परेका छन्, लथाललिगं बनेका छन्, छरपष्ट भएका छन् शब्दहरु । तिम्रो मौनताको शोकमा शब्दहरुले आफ्ना अर्थ गुमाएका छन्, तिमी कल्पना गर्न सक्छौ अर्थविहीन शब्दहरु कति कठोर हुन सक्छन् भनेर ? कति शब्दहरु कैदी बनेका छन्, स्वार्थका, प्रेमका, घृणाका, रिसका, रागका, द्धेषका ।

तिम्रो मौनतासंगै शब्दहरु निर्वासनमा गएका छन् । त्यही भएर त भन्दै छु केही त बोल ??? शब्दहरु टुहुरा भएका छन् तिम्रो मौनतामा, शब्दहरुले आत्महत्या गरेका छन् ।

तपाई भन्न सक्नुहून्छ हरेक कुराहरु शब्द संगै विथोलीयका छन्, वा उसको मौनतासंगै विसंगतीपूर्ण भएका छन् । कसको जिवन संगतीयुक्त छ र ? कसले पो रहरले यो जिवन बाँचेको छ र ? बाध्यताविहीन जिवनको कल्पाना गर्न मानवहरु बाध्य छन् यो सबै बाध्यता तिम्रो मौनताले सिर्जना गरेको हो ।

तिनताका म करिब एक दशकको हुदोँ हु, मेरी आमाको पति मेरी आमाको मात्र पति रहेन् । आमाको पति अर्थात मेरो पिताको बटवारा भयो उनि विभाजीत भए श्रीमतीका लागि, सन्तानका लागि । उनको यौन जिवन विभक्त भयो, सायद विभत्स पनि । यो सबै तिम्रो मौनताले भएको हुनुपर्छ तिमीले किन आफ्ना शब्दहरु गुमायौ ?

तिमीले कुनै साँझ मेरो कानमा सुटुक्कै भनेकी थियौ अर्थहरुको संसारमा शब्दहरुको उपस्थितले बाधा सिर्जना भएको छ । अर्थहरुले शब्दसंग आफ्नो साइनो जोड्नु पर्ने बाध्यताबाट मुक्ती पाउनु पर्छ भन्ने तिम्रो धारणामा म सहमत थिय् तर तिम्रो मौनता यती कष्टकर हुन्छ भनेर मलाई पूर्वाभाष पटक्कै थियन् ।

पिताको अनुपस्थितीले माता बडो नोस्टालजिक र अलोन बन्न थाल्नु भयो । त्यो एकल र यादहरुको घनघोर परिवेशमा टुटेफुटेका सम्बन्धको आडमा मैले मेरो बाल्यकाल गुजारे ।

शनैशन म तरुनो बने, युवा बने, लक्का जवान भैगए । ति जवानीका जावन दिनहरुमा म मेरी प्रेमीकाको भूत पूर्व प्रेमी भइसकेको थिए । ति जवान दिनहरु रोमान्टिक थिए् प्रेमील थिए, प्रेमीकासंग बसेर म कफी अड्डाहरुमा घण्टौ बिताँउथे, हुदयका अर्मुत कुराहरु गर्थे, प्रेमका आर्दश वाक्यहरुले प्रेमको महानताको बखान सुनाउथे ।

उ मुग्ध उन्थि मेरा बचनहरु सुनेर, मग्न हुन्थि मेरा कुराहरु सुन्न पाउँदा । प्रिय, तिमीले मौनता साधेँसगै ति शबै शब्दहरु कतै हावामा विलयन भइगएका छन् । चरि झै शब्दहरुले माइलौको यात्रा तय गरेका छन् कहिल्यै नर्फकीने गरेर । म मेरी प्रेमीकाका कोमल तिघ्राहरुको सिरानीमा जुगौँको निन्द्रा पुरा गर्थै, जिवनका मिठा सपनाहरु देख्थे उसको बक्षस्थलको सिरानीमा, आद्रतामा ।

तिम्रो मौनताले मेरो निन्द्रा बिथोलेको छ, तिम्रो मौनताले मेरा सपनाहरुमा अकुुंश लगाएको छ । म बिउझिँएको छु त्यो निन्द्राबाट, ए प्रिय केही त बोल ? कमसेकम मेरो निन्द्राको लागि । तिमी किन लोरी गाउदीनौ मलाइ सुताउनको लागि । भइदियो के भने म त्यसरी प्रेमीकाको प्रेममा निमग्न थिय् रंगिन जिवनको कल्पनामा व्यस्त भइरको समयमा अचानक मलाई मेरी आमाको याद आयो ।

आमाको त्यो श्यामश्वेत जिवनको झझल्को आयो । म तर्सिय जिवनको विरोधाभाष देखेर । आमाको यौन जिवन, सामाजिक जिवन, संवेगात्मक जिवन कल्पनामा मात्र सिमीत भएको थियो । बस् उहाँको धार्मीक जिवन मात्र सक्रीय थियो ।

तिमीले बिर्सेकी छैनौ होला धर्म अफिम हो भन्ने कुरा । आमा पिडात्मक यादहरुको गहिरो खाडलमा फस्नु भएको थियो, त्यसमाथि तिम्रो मौनता संगै समाजका कठोर शब्दहरुले आमामाथि निरन्तर प्रहार गरिरहे । अन्तत्वगव्ता आमाले धर्मको शरणागत हुनु पर्यो।

तिम्रो मौनताले आमालाई म बाट दुर कतै त्यो अपरिचीत धर्मको शरणमा पु¥यायो । आमा टाढिनु भयो म बाट, म अभाव ग्रस्त भए मातृत्वको । जिवनको कठोरतामा मैले मातृत्वको मल्हम लगाइन् । समयको त्यो क्रुर कालखण्डमा आमामाथि चुनौती थियो विकल्पको, आफुलाई जोगाउने वा मलाई जिवन दान दिने । आमाले दुवै विकल्प अस्विकार गर्नुभयो र रोज्नुभयो तथाकथित धार्मीक स्वतन्त्रता ।

प्रिय, तिमी मौन बस्नु पर्ने कुनै कारण छैन् । तर तिमी किन बोल्दीनौ तिम्रो मौनताले मेरो कथा पूर्ण हुदैन् । मलाई खाँचो छ तिम्रा शब्दहरुको, तिम्रा बचनहरुले म मेरो कथा पूर्ण गर्न सक्छु । केही त बोल ? आमाको धार्मिकताको सूरुवात संगै मैले आफुलाई नितान्त एक्लो महसुस गरे, प्रेमीकाको आवागमनले मेरो त्यो एक्लोपना दुर कतै गएको थियो । सायद तिम्रो मौनता संग मेरो एक्लोपनाको दोस्ती पो थियो की ?

त्यो साँझको बेला थियो, सूर्य अस्ताइसकेको हुनु पर्छ, रात परिसकेको थियो । प्रेमीकाले भनि ‘म तिमीलाई प्रेम गर्न सक्दिन्, किनकी तिमी आफुलाइ मात्र प्रेम गर्छौ आफ्नै लागि मात्र प्रेम गर्छौ ।’ यती भनेर उसले आफ्ना पाइला चाली र उ कतै बिलाई सडकको भिडमा । म चुपचाप बसिरहे, उसले चालेका पाइलाहरु नियालीरहे, उसको गमनमा किन मैले केही बोल्न सकीन ? म पश्चताप मनाउ गर्न थालेको छु । मैले उसलाइ रोक्नु पर्थ्यो । नजाउ भन्नु पर्थ्यो ।

उसको गमन संगै म एक्लिए । अह ! होइन म त एक्लै थिय् उसको गमनसंगै मैले सपनाहरु गुमाए जिवनका रंगिन, मिठो निन्द्र गुमाए । तर के ति सबै मेरा आफ्नै थिय् त ? तिम्रो मौनताले ति सबै कुराहरु फिर्ता ल्याउन सक्छ ? मलाइ पश्चताप छैन ति सांसारीक कुराहरु गुमाउँदाको तर तिम्रो मौनता संग आपत्ती छ मलाई ।

जसले सपनाहरु विथोल्यो, तिमी कसरी कसैका सपनाहरु बिथोल्न सक्छौ ह ? ए निर्मोही मौनता ! जिवनका तिक्ताहरु सहेर मैले आफुलाई जिउदो तुल्याएको छु । तिम्रो मौनताको दुहाइ दिदै मैले धेरै युद्धहरु लडेको छु, कयौँ जितेको छु, कयौँ हारेको छु । म मलाई प्रेम गर्न स्वतन्त्र छैन रे ? प्रिय ! केही त बोल ? मौनताको त्यो समुन्द्रमा म डुब्न चाहान्न, म शब्दको साहारमा यो मानव चोला पार गर्न चाहान्छु ।

trishuli river
बगिजाने नदिका यादहरु

उसको गमन संगै म पुनः एक्लिय, सकल एक्लो भए, नितान्त एक्लो भए । उसैको आग्रह र सहजताको लागि मैले मेरो श्यामश्वेत जिवनमा रंगहरुको बर्षा गराएको थिए् । त्यो रंग जसमा म भिजेको थिय्, निथ्रुक्क, मलाई त्यही रंग फोहोरी लाग्न थाल्यो, दिग्मीग लाग्न थाल्यो । यि तमाम रातो, पहेलो, निलो, बैजनी,सेतो,कालो,प्याजी, हरीयो रंगहरुको समिश्रणले मलाई कुरुप बनायो,बिरुप बनायो ।

रंगहरु सुन्दर हुन्छन जबसम्म ति रंगहरुमा उज्यालो रहन्छ प्रकाशको, तिम्रा शब्दहरु मरो लागि प्रकाश थिय् । मलाई कुरुप देख्न चाहान्छयौ र तिमी ? केही त बोल ? बोल न ? तिम्रा सम्यक यादहरुको लागि मेरो हुदय अस्थाइ बसेरा भएको छ, यादहरुको चहलपहलले म बिथोलीन्छु, खलबलिन्छु ।

तिम्रो गमनसंगै मेरो आत्मा निर्जन बनेको छ । आफैले आफैलाई प्रेम गर्नु बाध्यता हो, मेरो । म आफैलाई प्रेम नगरिकन कसरी तिमीलाई प्रेम गर्न सक्छु ? कसरी तिम्रो त्यो मौनतामय प्रेम अनुभुत गर्न सक्छु । ए निर्दयी आत्मा केही त बोल ?

तर्कहरुको भरमा तिमी कसरी प्रेम गर्न सक्छौ ? तर्कहरुको त्यो लफडादायी जञ्जालमा तिम्रो हुदय कसरी फस्न पुग्यो ? तर्कहरुको चक्रब्यहुबाट तिमी बाहीर निस्कुनु पर्छ । तर्कहरु खतरनाक छन् मानवका लागि, तर्कहरुले मानवलाई अपवित्र बनाएका छन्, तुच्छ तर्कहरुको साहारमा तिमी कसरी पो मानव चोला बिताउन सक्छौ ?

तिम्रा ति डरलाग्दा तर्कहरुको भार मैले थेग्न सक्दिन । तर्कहरु विवादका लागि हुन्, प्रेमका लागि त शब्दहरु हुन् । स्विकार्यता हो । तिमी भन्छौ प्रेम आर्दश हो, ए तार्किक केटी प्रेम त प्रेम हो, आर्दश त समाजको विष हो, तिमी किन त्यो विषलाई प्रेममा मिसाउछौ, म आदिम युगको सुकरात पनि त होइन जो विषपान गर्न सकोस, अथवा म त्यो खलिल जिव्रान पनि त होइन प्रेममा शहिद हुने ।

म त सामान्य मानव हुँ, मेरा समान्य सपनाहरु छन्, सामान्य जिवन छ । बस् हरेक कुरा सामान्य छ बस तिम्रो मौनता नै असामान्य छ ।


र, मैले एक पात्र गुमाएको छ, त्यो जुन मेरो आगामी कथाको मूख्य प्रोटागोनिष्ट थियो, उसले एकाएक आफुलाई मेरो मस्तिष्क च्याम्बरबाट गाएब बनाएको छ । उसको अनुपस्थितीमा म त्यो कथा पूर्ण गर्न सक्दिन् कथाका सम्पूर्ण घटनाक्रमहरु उसले नै निर्धारित गर्ने गर्छ । त्यो एक मानक कथा हुने वाला थियो, साहित्य जगतको सबैभन्दा नौलो र उत्कृष्ट रचना हुन सक्थ्यो । तर दुर्भाग्य भनिहाले नि कथाको पात्र बिलयन भैगयो । बस् बिलयन भैगयो ।

One Comment Add yours

  1. क्या बात ।पात्र गायब तर पनि सुन्दर लिखोट ।

    Liked by 1 person

Leave a comment